नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

-


     मर्दी न्युज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित


पोखरा । पर्वतीय पर्यटनको बिकास तथा प्रबर्द्धनमा अग्रणी भुमिका निर्वाह गर्दै आएको नेपालको जेठो संस्था नेपाल पर्वतारोहण संघको गण्डकी प्रदेश शाखाले नवबर्ष २०७९ को पावन अबसरमा शुभकामना आदानप्रदान तथा भर्खरै प्रकाशित क्यालेन्डरको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरेली पर्यटन ब्यबसायिहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचनको अबसरमा परिषदकै महत्त्वपूर्ण संस्था नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले आफ्ना कार्यसमिति सदस्यहरु तथा सल्लाहकारहरु को उपस्थितिमा भित्तेपात्रोको बिमोचन गरिएको हो।

पोखरा महानगरपालिका वडा नं :६ का अध्यक्ष जगतबहादुर पहारिको प्रमुख आतिथ्यता, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा पर्यटन परिषदको क्यालेन्डर बिमोचन भए लगत्तै नेपाल पर्वतारोहण संघ,गण्डकी प्रदेशको क्यालेन्डर बिमोचन गरिएको हो। औपचारिक कार्यक्रमका सभापति तथा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई र संघका सल्लाहकार बाशुदेब त्रीपाठिले संयुक्तरूपमा बिमोचन गर्नुभएको हो।

आफ्नो संक्षिप्त शुभकामना मन्तव्य राख्दै नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेष कान्त शर्माले क्यालेन्डर प्रकाशनले सदस्यहरु बिच भाइचारा तथा आत्मीयता समेत बढ्ने, यस क्षेत्रका हिउँ चुचुरोहरु र पर्वतीय गतिविधिहरु प्रचारमा आउने बताउनुभयो । क्यालेन्डर सम्पुर्ण सदस्यहरु, सल्लाहकारहरु,बिज्ञापनदाता तथा शुभचिन्तकहरु लाई बितरण गरिने जानकारी सहित अध्यक्ष शर्माले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

लेकसाइडकै प्रख्यात बुमर्याङ्ग रेस्टुरेन्टको परिशरमा आज बिहान सम्पन्न कार्यक्रमको संचालन पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले गर्नुभएको थियो। कार्यक्रममा पोखराका पर्यटन सम्बद्ध संघसंस्थाका पदाधिकारीहरु, उद्योग बाणिज्य क्षेत्रका अग्रजहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।