
फाइल तस्विर
पोखरा । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्देश्यसहित होटल संघ, पोखरा नेपालले आयोजना गर्न लागेको १७ औं फेवा नववर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सड़कमा यो महोत्सव संचालन हुने छ । यही चैत ३० र बैशाख १ गते गरी दुई दिन सम्म महोत्सव चल्ने छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्दै कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ । संघले यस पटक खुल्ला मैदानको सट्टा सडकमा नै महोत्सब
आयोजना गर्न लागेको हो । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवलाई पुनः निरन्तरता दिन लागिएको हो ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नया वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्षपनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । यसैविच महोत्सव स्थल सिंगार्ने काम सम्पन्न भइसकेको छ भने प्रचारप्रशारका काम तीब्र रूपमा गरिएको छ।

गीत संगीत अन्तर्गत चैत ३० गते ख्यातीप्रापत कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने,प्रीति आले, शिवहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुती रहने छ।यसैगरी लाइभ ब्याण्ड तर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुती रहने पनि बुझिएको छ।
नयाँ बर्षको दिन बैशाख १ गते प्रकाश दुतराज, सम्झना भण्डारी, तारापति सुवेदी, रामजी पौडेल, राजन कार्की, जीवन सिग्देल, टेक क्षत्री, माया गुरुङ, लक्ष्मी नेपाली र तुलसा क्षत्रीद्धारा लोकदोहोरी र साँझ स्थानिय लाइभ व्याण्डद्वारा मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको जानकारी आयोजकले दिएको छ ।
महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी कार्यक्रमहरु संचालन गरि महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट सांस्कृतिक झाँकीसहितको न्याली निकालिने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । अन्नपूर्ण केवलकार प्रा.लि र गोर्खा बुअरी महोत्सवको मुख्य प्रायोजक रहेका छन् नेपाल पर्यटन बोर्ड प्रबद्धक रहेको छ ।
