पर्यटकीय पूर्वाधारमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

-


     मर्दी न्युज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित


पोखरा । पोखरामा ‘फेवा नव वर्ष २०७९ महोत्सव’ शुरु भएको छ । नेपाली नया वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि पोखराको लेकसाईडमा ‘फेवा नव वर्ष महोत्सव’ शुरु भएको हो । विहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे ।

आजदेखि फेवाताल किनार लेक–साइडमा सुरु भएको १७औँ संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै उनले निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटकको चाप बढ्ने भएकाले नयाँ नयाँ पर्यटकीय गन्तव्य खोजी गर्नुपर्ने बताए ।

आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने बताएको हो ।

उनले भने, “क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भपछि तपाई पर्यटन व्यवसायीहरुले नयाँ नयाँ गन्तव्य खोज्नुपर्ने हुन्छ । भोलिका दिनमा हामी यहाँबाट सिधै अष्ट्रेलिया, जापान र मुम्बई जान्छौँ, त्यहाँका पर्यटक आएपछि हामीले कहाँ राख्ने ? उच्च क्वालिटीका पर्यटकलाई सोही अनुसारका सेवा दिनुपर्दछ । पूर्वाधारका लागि तपाईहरू अगाडि बढ्नुहोस् ।”

मन्त्री आलेले अबको पाँच महिनाभित्रमा विमानस्थल उद्घाटन गरिने जानकारी दिए । “पोखरा क्षेत्रीय विमानस्थल छिटो सुचारु गर्नका लागि हामीले निरन्तर ताकेता गरिरहेका छौँ”, पर्यटनमन्त्री आलेले भने, “हाल ९३ प्रतिशत काम सकिएको छ । अबको पाँच महिनाभित्रमा भव्य उद्घाटन गर्ने तयारीमा हामी छौँ ।”

मन्त्री आलेले विमानस्थलको समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान गर्ने काम सुरु गर्न छिटो छरितो रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट निर्णय गराएर काम अघि बढाइने बताउँदै ल्याण्डफिल साइट व्यवस्थापनमा लाग्न स्थानीय सरकारलाई आग्रह गरे ।

नेपाली नयाँ वर्षको अवसरमा संघले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरि यस वर्ष रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ महोत्सव गरिएको छ । दुई दिने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहेका छन् ।

लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राखेका छन् ।

महोत्सवमा यस वर्ष निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सडकमा महोत्सव हुने भएकाले लेकसाईडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइएको अध्यक्ष सुबेदीले जानकारी दिए ।

महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको ¥याली निकालिएको थियो । दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।