
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरूबिच नै प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् ।
शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् । तर त्यस्तो स्थानीय तहमा नेकपा एमालेसँग गठबन्धन भने कुनै दलले गर्न नपाउने उनको भनाइ छ ।
महतले भने–कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौँ, मित्रवत् प्रतिस्पर्धा गर्छौँ भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ तर एमालेसँग हुँदैन ।
उनले कुनै स्थानीय तहमा गठबन्धन गर्ने विषयमा सहमति जुटेन भने बेलैमा जानकारी गराउन पार्टीको तल्ला समितिलाई आग्रह गरे ।