एसईईको परीक्षा शुक्रबारदेखि

-


     मर्दी न्युज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित


mardi news

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सञ्चालन गर्दै छ ।

९ वैशाखदेखि सुरु हुने परीक्षाका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो ।

विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रूपमा परीक्षा गर्न लागेको हो । परीक्षाको लागि प्रश्न पत्र, उत्तर पुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको बताइएको छ ।

जिल्ला परीक्षा व्यवस्थापन समितिले एसइईका लागि केन्द्राध्यक्ष तोक्ने तथा प्रशिक्षण दिने काम गरिरहेको बोर्डले बताएको छ ।

एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ । सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरू यो वर्ष एसईईमा सहभागी हुने छन् ।