
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताएका छन ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उनले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताएको हो ।
‘‘छ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगरको विषयमा टुंगिने नजिक पुगेको छ ।,’’ अध्यक्ष प्रचण्डले भने, ‘‘अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिको तालमेल निष्कर्षमा पुग्छौं ।’’
यसैगरी, उनले स्थानीय तह निर्वाचन कुनै हालमा नसर्ने बताए ।
‘‘आम मतदातालाई अपिल गर्न चाहन्छु । निर्वाचन वैशाख ३० गने नै हुन्छ ।,’’ प्रचण्डले भने, ‘‘त्यसको तयारीमा आ–आफ्नो ठाउँबाट सहयोग र योगदान गर्न सबैसँग अपिल गर्दछु ।’’
यस्तै पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताउँदै अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए ।
हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनी निलम्बित अवस्थामा छन् ।
गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्री शर्माको आलोचना भइरहेको छ ।