
काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न गण्डकी प्रदेशका सभापति र कास्की सभापतिसहित नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।
कास्की काँग्रेसले पोखरा महानगरपालिकाको मेयर अरूलाई छाड्न नसक्ने अडान लिइरहेको छ ।
सभापति देउवाले आज मंगलबार बिहान बालुवाटारमा छलफल गर्न भन्दै कास्कीका नेताहरूलाई बोलाएका हुन् ।
सभापति देउवाले छलफलका लागि बोलाएपछि गण्डकी काँग्रेस सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, नेता यज्ञबहादुर थापालगायत आज बिहान काठमाडौँ आउँदै छन् ।
‘सभापतिले हामीलाई छलफलका लागि बोलाउनुभएको हो । बिहान साढे ९ भित्र आइपुग्नु भन्नुभएको थियो। हामी गजुरी कटियो,’ सभापति बरालले भने, ‘बालुवाटारमा छलफल हुन्छ । स्थानीय चुनावबारे जिल्लाका अवस्था लगायतबारे छलफल गर्ने हो ।’
छ महानगरमध्ये पोखरा कसले लिने भन्ने सत्ता गठबन्धनमा विवाद छ । नेकपा एकीकृत समाजवादीले पोखरा दाबी गरेको छ भने काँग्रेसले पनि पोखरा छोड्न नसक्ने बताइरहेको छ ।
सत्ता गठबन्धनको बैठक आज बिहान ११:३० बजे बालुवाटारमा बस्दै छ । गठबन्धन बैठकअघि कास्कीका नेताहरूसँग सभापति देउवाले छलफल गर्न लागेका छन् ।