
फोटोः फ्रेन्च पेम्बा शेर्पा
सुनसरी । नेपालको पहिलो रामसार क्षेत्रमा सुचिकृत कोशी टप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ खरमुजुरको गणना आजबाट शुरु भएको छ । गणना कार्यक्रममा कुल १५ जना गणकहरु प्रत्यक्ष रुपमा सहभागिता रहने छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष-कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, जेडयसयल नेपाल, नेपाल पंछीविद संघ, वर्डस् नेपाल, पोखरा पंछी समाज, दुर्गादल गुल्म र कोशी पंछी समाजको सहभागितामा ७ दिने गणना कार्य भईरहेको छ ।
विशेष गरि संरक्षित क्षेत्र भन्दा बाहिर खासै अभिलेख नभएको यो प्रजाति अत्यन्तै दुर्लभ, स्थान विशेष आवासिय तथा पछिल्लो समयमा बासस्थान खण्डिकृत हुँदै गई रहेको छ ।
पूर्वको कोशी टप्पु देखि चितवन राष्ट्रिय निकुञ्ज तथा पश्चिमको शुक्लाफाँटा सम्म देखिने यो प्रजातिको संख्या नेपालमा ६५ देखि १०० को विचमा भएको अनुमान नेपालका दुर्लभ चराहरुको रातो तथ्याङ्क कितावमा उल्लेख गरिएको छ ।
दश वर्षको अन्तरालमा सप्तकोशी नदीको बहाबले वासस्थानमा ब्यापक परिवर्तन भएकोले हरेक ५ वर्षमा गरिने यस कार्यक्रमले प्रजातिको वर्तमान अबस्था बारे महत्वपूर्ण जानकारी दिने बताउनुहुन्छ वरिष्ठ पंछीबिद डा. हेमसागर बराल ।
नेपाल पंछीविद संघ तथा हिमाली प्रकृति को समन्वयमा गरिएको गणनामा सन् २०१२ मा ४९ वटा तथा सन् २०१७ मा ४१ वटाको अभिलेख भएको बताउँछन् कोशी पंछी समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक संजिब आचार्य ।
यस्ता किसिमका कार्यक्रमले प्रजाति विशेष संरक्षणको कार्ययोजना बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउँनुहुन्छ कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा ।