विकास र सुशासनको नीतिमा एमाले स्पष्ट छ : अध्यक्ष ओली

-


     मर्दी न्युज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनको नीतिका आधारमा देशलाई अघि बढाउन पार्टी प्रतिबद्ध भएको बताएका छन् ।

सो पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले पार्टीमा वैचारिक स्पष्टता, साङ्गठनिक सुदृढता कायम गरेर अघि बढ्न आग्रह गरे । अध्यक्ष ओलीले सल्लाहकारको अनुभव र ज्ञानबाट पार्टीले लाभ लिन सक्ने बताए ।

परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा परिषद्मा पछिल्लो समयमा थपिएकासहित सदस्यले शपथ लिएका थिए ।

यसैबिच नेकपाको ७३औँ स्थापना दिवसका अवसरमा यही वैशाख ९ गते एमालेले स्थानीय तहका लागि केन्द्र स्तरमा र पालिका स्तरमा एकैसाथ घोषणापत्र सार्वजनिक गर्दै छ ।

घोषणापत्र सार्वजनिक गरिने कार्यक्रममा ज्येष्ठ कम्युनिस्टको पनि सम्मान गरिँदै छ । एमालेले सोही दिनदेखि केन्द्रीय कार्यालयलाई थापाथलीबाट सारेर च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन गर्दै छ ।