कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

-


     मर्दी न्युज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित


पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।

भौगोलिकरूपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ ।

महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा नेकपा (एमाले)का कृष्ण थापा छन् भने
पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य छन् । अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र छन् ।

पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ ।

कास्कीका अन्य चार गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसीले उम्मेदवारी दिएको छ । उपाध्यक्षमा कांग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ । माछापुच्छ«ेको अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा कांग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारी छन् ।

मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका देवीजङ्ग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिस्पर्धा गर्दैछन् भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ ।

त्यस्तै रुपा गाउँपालिकामा कांग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराएको छ । रुपाको उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुब्बा गुरुङको उम्मेदवारी परेको छ । दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।