शनिवार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित


काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।

आयल निगमले आइतबार बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो ।