
तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उमेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक/एक महिलाले उमेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उमेदवाररी दर्ता गराएकी छन् । उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उमेदवारी दर्ता गराएकी हुन् ।
व्यास नगरपालिकाको प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगरले उमेदवारी दर्ता गराएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट अञ्जना थापाले उमेदवारी दर्ता गराएकी छन् । व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट पार्वती कार्की र राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापाको उमेदवारी दिएका छन् । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट सुशीला नेपालले उमेदवारी दर्ता गराएकी छन् ।
कांग्रेसले सत्तारुढ दलसँग तीन स्थानीय तहमा गठबन्धन गर्दा उक्त स्थानीय तहको प्रमुख/उपप्रमुखमा महिलाले नेतृत्व गर्ने अवसर गुमाएका छन् । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट शुक्लागण्कीको प्रमुख, उपप्रमुखमा पुरुषको मात्रै उमेदवारी परेको छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा पुरुषको उमेदवारी परेको छ ।
कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको मात्रै उमेदवारी परेको छ । रासस