कांग्रेस कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तोडफोड, २३ जना कार्यकर्ता पक्राउ

-


     मर्दी न्युज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित


पोखरा । नेपाली कांग्रेसको असन्तुष्टी पक्षले पार्टी कार्यालयमा तोडफोड गरेको छ ।

आफ्नै पार्टी विरुद्ध संघर्ष गर्दै पोखरा महानगरपालिका १८ र २४ का कार्यकर्ताले प्रदेश समिति कार्यालय तोडफोड गरेको हो । उनीहरुले कार्यालयको कुर्ची तथा टेबललगायतका सामानहरु तोडफोड गरेका छन् ।

गठबन्धनप्रति असन्तुष्टी जनाएका उनीहरुले गठबन्धन नगरिकन नै पार्टीले चुनाव जित्ने बताउँदै आएका थिए । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदकालागि पाँच दलीय गठबन्धनले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापालाई गल्ती सच्चाउन आग्रह गरेका थिए ।

तोडफोड गर्ने २३ जना पक्राउ

नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको विषयलाई लिएर प्रदेश समिति कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ परेको हो ।

पक्राउ परेका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । पार्टी कार्यालयमा के कति क्षति पुगेको छ भन्ने यकिन तथ्याङ्क आई नसकेको प्रहरीले जनाएको छ ।