देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

-


     मर्दी न्युज    
     वैशाख २० गते २०७९ मा प्रकाशित


झापा, २० वैशाख । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनी आज बिहान काठमाडौँबाट झापा आएको हो । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी आएको हो ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेको थियो । रासस