यस्तो छ आज देशभरको मौसमी अवस्था

-


     मर्दी न्युज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित


पोखरा, २१ वैशाख । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

पोखरा तथा काठमाडौं उपत्यकाका केही स्थानमा आज एकाबिहान वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नम्बर १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।