आजको मौसम : चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित


पोखरा । हाल नेपालमा तीनवटा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राती प्रदेश १ लगाएत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।