गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित


दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए ।

काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे ।

गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्त्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे । गठबन्धन सफल बनाउने काँग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । ‘धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ’, देउवाले भने ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए ।

देउवा सेनाको हेलिकप्टर चढेर पुगे दमौली

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली पुगेका छन् ।

शनिवार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली काँग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ पुगेका हुन् ।

देउवासँगै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाश शरण महत पनि तनहुँ पुगेका छन् ।