
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।
ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको हो भने उनी चढेर आएको गाडी समेत तोडफोड गरेका छन । जोशीको टाउकोमा चोट लागेको छ ।

काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
जोशीले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थेँ’ उनले भने, ‘अहिले पनि बाहिर गुन्डाहरू छन्, म भित्र छु ।’

दीपकलाई सुरक्षाकर्मीको गाडीमा दमौली पठाएपछि एकतर्फी रुपमा मतदान भएको थियो । यस घटना अघि धाँधली भएको भन्दै एमालेका वडाध्यक्ष लगायतका उम्मेदवार तथा पार्टी प्रतिनिधि मतदान वहिष्कार गरेर हिंडेका थिए । मतदान ६:३० सम्म चलेको थियो ।