
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।
प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीप प्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका हुन् । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीप प्रतापले ११ हजार ५९६ मत पाए ।
यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेका हुन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएका थिए ।
चौध वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा काँग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । विसं २०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा काँग्रेस विजयी भएको थियो । कूल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो ।