पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

-


     मर्दी न्युज    
     जेठ ६ गते २०७९ मा प्रकाशित


गण्डकी, ७ जेठ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यलाई ३२ हजार ४८० मत प्राप्त भएको छ ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेको छ । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गरेको हो ।

त्यस्तै प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले तीन हजार ५२० मत प्राप्त गरेको छ भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गरेको छ ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मतसहित उनलाई पछ्याएको छ । उपप्रमुख पदमा राप्रपाकी रञ्जना सेनलाई तीन हजार ४११ मत प्राप्त भएको छ ।