मेघगर्जन र हावा हुरीसहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     जेठ १० गते २०७९ मा प्रकाशित


पोखरा । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।