अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेशको विरोधमा उत्रिए निजगढवासी

-


     मर्दी न्युज    
     जेठ १४ गते २०७९ मा प्रकाशित


काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध गरेका छन् । माइतीघर मण्डलामा निजगढवासीले ‘सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनर्विचार गर, वातावरणको नाममा विकास रोक्न पाइँदैन, खर्च हाम्रो भइसक्यो फिर्ता कसरी आउँछ? भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ?’ जस्ता नारासहितका प्लेकार्ड बोकी विरोधमा उत्रिएको हो ।

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चार किल्ला, गरेका सबै निर्णयहरू खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ । चारकोसे झाडीको बिचमा रहेको निजगढको जङ्गल मासेर विमानस्थल बनाउन लागिएको भन्दै वातावरणविद्हरूले विरोध जनाएका थिए । करिब २४ लाख सालको रुख काटेर विमानस्थल बनाउन लागेको कारण पानीको श्रोत, वातावरण र चराचुरुङ्गी समेतलाई असर गर्ने भन्दै विमानस्थल नबनाउन सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता रञ्जु हजुर पाँडे लगायतले दायर गरेको रिट बिहीबार पाँच सदस्यीय बृहत् पूर्ण इजलासमा परेको थियो । इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा रहेका थिए ।