
काठमाण्डौ उपत्यकामा वा देशका कतिपय मध्य पहाडी सिमसारहरुमा बिशेष गरी हिउँदमा जाडो छल्न आउने आगन्तुक हाँस लगायतका चराहरु वर्षै भरी पनि देखिने गरेका छन् । असोज महिनाको अन्त्य देखि उपयुक्त वातावरण, सुरक्षित बसाई र खानाको खोजीमा स्थान्तरण हिउँदे आगन्तुक प्रजातिहरु मध्य चैत सम्ममा आफ्नो प्रजनन स्थल तिर पुगि सक्ने गर्दछन् ।
साधरणतया बास स्थान्तरणको बेला मौसम बिग्रदा, शारीरिक रुपमा अशक्त भएमा, शिकारी प्रजातिको आक्रमण वाट जोगिने क्रममा बथान छोडेर धेरैजसो एकाध चराहरु आराम गर्न थकाई मार्न रोकिन्छन या त बाटो भुलेर अलमलिने गर्छन् । त्यस संकटबाट बच्नको लागि तलाउ वा पोखरी मा थकाई मार्न वा स्वास्थ्य सुधार नहुञ्जेल बस्ने गर्दछन् । कतिपय अबस्थामा स्वास्थ सुधार भएपछि गन्तब्य तिर लाग्छन भने केही एक स्थान वाट अर्को स्थानमा भौतारी रहन्छन् र केही आफ्नो बथान कुरी बस्दछन् ।
यही मे महिनाको शुरुवात देखि नै ललितपुरको नागदहमा कालीजुरे हाँस देखिदैआएको छ भने मे महिनाको १८ तारीख सम्म देखिएको बेल्चा ठूँडे हाँस त्यसै रात त्यहाँबाट गन्तब्य तिर वा अर्को स्थानमा लागेको देखिन्छ । बेल्चा ठूडेको हकमा ओरियण्टेशन डिफ्युज र कालीजुरे हाँसको हकमा स्वास्थ्यको कारण लामो समय सम्मको आरामको जरुरत पर्दा नागदहमै रोकिनु पर्ने अनुमान लगाउन सकिन्छ ।

यस वर्ष मात्र हैन बिगतका बर्षहरुमा पनि हाँसका प्रजातिहरु खडखडे, सुनजुरे, सिन्दुरे र बिजुलागैरी लगायत अन्य थुप्रै हाँसहरु काठमाण्डौ लगायत उपत्यका बाहिरका सिमसार क्षेत्रहरुमा बेमौसमका बेला देखापरेका र देखिएका विभिन्न सूचना माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका थिए ।
पंछीविदहरुको अनुभवमा के बुझ्न सकिन्छ भने चराहरुको बेमौसममा हुने उपस्थिति वा बास स्थान्तरणको कारण खराब स्वास्थ्य स्थिति र मौसमको गडबडिका कारण आईलाग्ने सुरक्षा संकट तथा कुनै बेला बायोलोजिकल टाईम ओरियण्टेशन मा गडबड वा डिफ्युज हुँदा चराहरुको स्थान्तरण को समय ढिलाई वा हेरफेर हुने गर्दछ ।
सिलसिले हाँस, नकटा, नादुन हाँस, हरिहाँस र स्थान विशेष केही चखेवाचखेवीका जोडीले नेपालका विभिन्न स्थानहरुमा प्रजनन गर्दे आएका छन् जसका कारण गृष्म या बर्षा याममा उच्च हिमाली क्षेत्रका ताल, मध्य पहाडका सिमसार र तराईका तालतलैयाहरु मा यी प्रजाति देखिने गर्दछन् ।
यसरी गृष्म र बेमौसम मा आउने हाँसहरुले भने पर्यावरण र अनुसन्धानको पाटोबाट चरा प्रेमीहरुलाई खुशी भरिदिने गर्दछन् ।
भण्डारी नेपाल पन्छी संरक्षण संघका कार्यसमिति सदस्य हुन् ।

