गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै (लाइभ)

-


     मर्दी न्युज    
     जेठ २३ गते २०७९ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशको वर्तमान सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा प्रस्तुत गर्दैछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वले मंगलबार प्रदेश नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यो सरकारको नीति तथा कार्यक्रम पहिलो पटक हो भने प्रदेशको नीति तथा कार्यक्रम भने पाँचौं हो । यसबिचमा गण्डकी प्रदेशमा दुई पटक प्रदेश सरकार र चारपटक प्रदेश प्रमुख फेरिएका छन् । पृथ्वीमान गुरुङ गण्डकीका चौथौं प्रदेश प्रमुख हुन् ।

यसअघि बाबुराम कुँवर, अमिक शेरचन र सीता पौडेल प्रदेश प्रमुख थिए । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले विगतमा दिँदै आएको कृषि अनुदान कटौति गरेको बताइएको छ ।

नीति तथा कार्यक्रममा आर्थिक प्रदेशमा रोजगार सृजना गर्ने, दक्ष कामदार उत्पादन गर्ने, कृषि उत्पादन, रोजगार र प्रदेशका राजस्व वृद्धिलाई प्रदेश सरकारले प्रथामिकता दिएको प्रदेश नीति तथा योजना आयोगका कर्मचारीले जनाकारी दिए । ती कर्मचारीका अनुसार प्रदेश नीति तथा कार्यक्रममा पूराना प्रदेश गौरवका योजनाहरुलाई निरन्तरता दिएको छ भने कतिपय योजनाहरुलाई दोहोरिएको बताइएको छ ।