अनिवार्य इम्बोस्ड निर्णयमा पछि हट्यो विभाग, पोखरामा नयाँ तथा सरुवा दर्तालाई मात्र

-


     मर्दी न्युज    
     जेठ २३ गते २०७९ मा प्रकाशित


पोखरा । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो ।

२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

पोखरामा नयाँ तथा सरुवा दर्तालाई मात्र

सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात व्यवस्था कार्यालय कास्कीमा भने भिड लागेको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताउँदै उपकरण तथा जनशक्तिको क्षमता अनुसार एकदिनमा ४० देखि ५० जना सम्मलाई मात्र सेवा दिन सकिने बताएको छ ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जानकारी दिएको छ ।

हेर्नुहोस विज्ञप्तिः