जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , ५ जनाको अवस्था गम्भीर

-


     मर्दी न्युज    
     जेठ २६ गते २०७९ मा प्रकाशित


सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका– ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको बोलेरो जीप वडा नं ५ को गर्खाकोट भन्ने स्थानमा दुर्घटनामा परेको पालिकाका प्रवक्ता रामबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था सामान्य रहेको छ । जीपमा सवार जम्मा ११ जना रहेका थिए ।

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिए ।