
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् ।
चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरेको बजेटको खर्च बेहोर्न स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट रु सात अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट प्राप्त रु नौ अर्ब २३ करोड ९९ लाख, सःशर्त अनुदानतर्फ रु छ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ रु ८६ करोड प्राप्त हुने अनुमान गरेको उनले जानकारी दिए ।
प्रदेशको आन्तरिक राजस्वबाट रु पाँच अर्ब नौ करोड १६ लाख र रोयल्टी बाँडफाँटबाट रु ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको उनले बताए । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् रु दुई अर्ब ७१ करोड नगद मौज्दात रहने अनुमान गर्दै अर्थमन्त्री बरालले यसका अतिरिक्त आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब न्यून हुने अनुमान गरिएको बताए ।
न्यून हुन जाने रकममध्ये रु एक अर्ब आन्तरिक ऋणबाट र एक अर्ब नेपाल सरकारबाट लिइने ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको उनले जानकारी दिए ।