आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     असार १ गते २०७९ मा प्रकाशित


पोखरा । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै राती प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशको प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ।