
काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ ।
नेपाली सेनाले बिहीबार मात्र विज्ञप्ति जारी ‘एसपीपी’ सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ बताएको थियो । तर बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।
सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनाका लागि सहयोग गर्ने विषयहरु उल्लेख छन् ।
उनले एसपीपीमा सहभागिताको लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । उच्च सुरक्षा स्रोतबाट प्राप्त पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरु बीचमा सहकार्य गर्ने बारेमा उल्लेख छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
