
पोखरा । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशको आयोजनामा आज २०७९ असार ५ गते बिहान पोखरा, राष्ट्रबैंक चोक स्थित टुरिष्ट बसपार्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पोखरामा भएको रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान, जिबन दान भन्ने मुल नारा सहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुशीला अधिकारी सिग्देलले बताउनुभयो। रक्त संचार केन्द्र, पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालि तथा उहाँको टिमले रक्त संकलन गर्नुभएको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव संगिता पौडेलले गर्नुभएको थियो।
आफ्नो ब्यस्तताको बाबजुद पनि रक्तदान स्थलमा उपस्थित हुनुभइ रक्तदान गर्नुभएका पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले आफ्नो संक्षिप्त मन्तव्य राख्नुहुँदै रगतको अभाव रोक्नको लागि गरिएको यस्तो पुनित कार्यको लागि आयोजक लाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा नाट्टाका पुर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नँ ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराई, नाट्टाका केन्द्रिय सदस्य ढकनाथ काफ्ले, वरिष्ठ संचारकर्मी दीपेन्द्र श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
नाट्टा गण्डकी प्रदेशका सदस्यहरु, अन्य पर्यटन ब्यबसायी संस्थाका सदस्यहरु, आम जनता तथा सुभेच्छुकहरु लगायतबाट ३८ जना रक्तदाताले रक्तदान गरेका थिए।