डुम्रे–बेंसीशहर सडक अवरुद्ध

-


     मर्दी न्युज    
     असार ४ गते २०७९ मा प्रकाशित


पोखरा । डुम्रे–बेंसीशहर–चामे सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

लमजुङखण्ड र तनहुँ खण्डका आधा दर्जन ठाउँमा शनिबार रातिको अविरल बर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । लमजुङखण्डको बेंसीशहर नगरपालिका १ उदीपुरको देउराली डाँडामा पुनः पहिरो गएपछि सडक अवरुद्ध बनेको छ ।

गतबर्षबाट झर्न थालेको पहिरो यसबर्ष बर्खा लाग्ने वित्तिकै बढ्दै गएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए । उनका अनुसार उदीपुरको पहिरोले सवारीसाधन आउजाउ विहानैदेखि ठप्प छ ।

डुम्र–बेंसीशहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार उदीपुरको पहिरोले सास्ती दिएपनि बैकल्पिक बाटोको खोजी गरिएको छ । उनका अनुसार उदीपुरसंगै बेंसीशहर नगरपालिका ६ को खरखरे, मस्र्याङदी गाउँपालिका ४ को अर्खलेमा पहिरो गएको छ । खरखरेमा बर्षौंदेखि पहिरो जाने गरेको छ । यसले नागरिकलाई सास्ती खेप्न बाध्य पारेको छ । बर्खाको समयमा दैनिक पहिरो झर्ने गरेको छ ।
यस्तै, तनहुँको भानु नगरपालिका ८, बलिफाँटमा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।