देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     असार ६ गते २०७९ मा प्रकाशित


पोखरा, ७ असार । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

अहिले बिहान प्रदेश नं १, मधेस प्रदेश, बागमति प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१, वाग्मती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही भू-भागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का केही र मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आज उक्त प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।