तमु जातिको मौलिक पहिचान अध्ययन गर्दै गण्डकी प्रदेश सरकार

-


     मर्दी न्युज    
     असार १० गते २०७९ मा प्रकाशित


पोखरा । तमु जातिको प्राचीन थलो क्होल सोप्रें ट्हो पुनः उत्खनन गर्नको लागि क्होला आसपासका गुरुङ गाउँहरुमा जातिको मौलिक भाषा, संस्कार, संस्कृति र धर्मको अध्ययन गरिंदैछ ।

गण्डकी प्रदेश सरकारले आव २०७८/०७९ मा विनियोजित २० लाख रकमबाट प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत बेसीशहर लमजुङ कार्यालयले नेपाल हेरिटेज सर्कलमार्फत सो अध्ययन गरिएको हो ।

सो अध्ययन अन्तर्गत गत सोमवार र मंगलवार लमजुङको घले गाउँ, घनपोखरा र भुजुङ गाउँमा सम्पन्न गरेको छ । यस अघि हेरिटेज सर्कलले कास्कीको सिकलेस र ताङतिङ गाउँमा अध्ययन सम्पन्न गरेको तमु प्ये ल्हु संघका महासचिव हर्क योज तमुले जानकारी दिए ।

उनका अनुसार क्होलालाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नको लागि र पुनः उत्खनन गर्नको लागि त्यहाँ बोलिने भाषा, संस्कार र धर्मको मौलिकता अध्ययन गरिएको हो ।

सन् २००० अप्रिलमा क्होलाको पहिलो उत्खनन भएको थियो । तमु प्ये ल्हु संघको समन्वय तथा पुरातत्त्व विभागको उपस्थितमा बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालय आर्क्योलोजिकल विभागले पहिलो उत्खनन गरेको हो ।

देशमा चर्किएको माओवादी द्वन्द्वले उत्खनन कार्य बीचमै छाड्नु परेको थियो । त्यहाँ विभिन्न सामग्रीहरु फेला परेपनि विदेश लैजान नपाउने नियमका कारण त्यहाँ प्राप्त कोइलाको परीक्षणबाट एक हजारदेखि १३०० वर्ष पुरानो वस्ती भएको मानिएको थियो । उक्त मितिप्रति तत्कालिन क्होल उत्खननको को–डाइरेक्टरको रुपमा काम गरेका तमु प्ये ल्हु संघका संस्थापक सदस्य यारजङ क्रोम्छें तमु र क्याम्ब्रिज विश्वविद्यालयका आर्क्योलोजिकल विभागका प्रमुख क्रिस्टोफर इभानले उक्त मिति चित्तबुझ्दो नभएको भन्दै पुनः उत्खनन गर्ने सहमति भएको थियो ।

आर्थिक अभावलगायत विभिन्न कारणले त्यतिकै थाती रहेको उक्त कार्य २०७६ फागुन महिनामा क्होला उत्खननका को-डाइरेक्टर यारजङ क्रोम्छें तमुले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटगरी बजेट विनियोजनलगायत सबैकुरा अवगत गराएका थिए । सोही अनुसार आव २०७७/७८ को बजेटमा प्रदेश सरकारले ५० लाख छुट्याएको थियो । जुनसुकै मौसममा जान नसक्ने क्होलामा विश्वव्यापी फैलिएको कोभिड-१९ ले गर्दा त्यस वर्ष उत्खनन कार्य हुन सकेन ।

सरकार परिवर्तनसगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्व सरकारले बजेटमा भारी कटौती गरी २०७८/७९ को बजेटमा २० लाख मात्र विनियोजन गर्यो । जबकी त्यसबेला उत्खनन कर्ता क्याम्ब्रिज विश्वविद्यालयका आर्क्योलोजिकल विभागका प्रमुख क्रिस्टोफर इभानले क्होल उत्खनन्को लागि ५७ हजार ५८० पाउण्ड अर्थात् करिब ८८ लाख रुपैयाँ लाग्ने जनाएको थियो ।

त्यस वर्ष उत्खनन गर्नको लागि बेलायतस्थित म्याकडोनाल्ड इन्स्टिच्युट फर आक्र्योलोजिकल रिसर्चबाट ५ हजार पाउण्ड र सोसाइटी फर एन्टीक्वेरिज लण्डनबाट २ हजार गरी ७ हजार पाउण्ड उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको थियो ।

बाँकी उत्खनन् कार्यलाई चाहिने आवश्यक रकमको लागि पहल गर्न गुरुङले तमु प्ये ल्हु संघलाई प्रस्ताव गरिएको थियो ।

हाल सोही २०७८/७९ को २० लाख बजेटबाट गुरुङको मौलिक पहिचान अध्ययन गरिएको हो ।

क्होल पुनः उत्खननका लागि चिक्रेँ, पक्रेँ, होमा ङ्हैरु ङ्ह्यो, फैदु न्हे, चोम्रो, नौदी, तस खोब, प्हन्ग छ्योप, च्ह्यम्स्यो उ, कन्यकोँलगायतका दर्जनभन्दा बढी ठाउँहरुमध्ये एक छनौट गरिनु पर्ने अनुसन्धान विज्ञहरूले बताएका थिए ।

खण्डहर क्होलाको उत्खन गर्दै क्याम्ब्रिज विश्वविद्यालयका आर्क्योलोजिकल विभागका प्रमुख क्रिस्टोफर इभान

क्होल लमजुङ हिमालको दक्षिण, पानी ढलो मादी नदीको मुहानको पूर्वपट्टि दूधपोखरीदेखि दक्षिण–पश्चिममा रहेको एउटा प्राचीन खण्डहरको रुपमा अवस्थित छ । क्होललाई क्होल ट्होँ, क्होल सोँप्रेँ ट्होँ र क्होल सोँथरये ट्होँ भनिन्छ । अघि क्होलमा तीनवटा ठूल्ठूला गुरुङ बस्ती थिए । त्यसकारण उक्त बस्तीलाई क्होल सोँप्रेँ ट्हो र क्होल सोँथरये ट्होँ भनेको हो । यो क्होल सोँप्रेँ ट्होँ गुरुङहरूको प्राचीन थलो हो । यही क्होल सोँप्रेँ ट्होँबाट नै गुरुङहरू शाखावन्दी भएर यत्रतत्र लागेका इतिहास छ ।

क्होल गुरुङहरुको लागि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा सामाजिक हिसाबले अति महत्वपूर्ण स्थल पनि हो । क्होलमा आएपछि केही थीति बसालेको ऐतिहासिक तथ्य पनि रहेको छ । गुरुङहरुले क्होललाई आस्थाको केन्द्रविन्दु एवम् पवित्र धार्मिक केन्द्रको रुपमा मान्ने गर्दछ ।