हेम्जामा असारे रोपाई महोत्सव गरिने

-


     मर्दी न्युज    
     १३ असार २०७९ मा प्रकाशित


सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक हाम्रो देश नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ । भु-उपयोग सम्बन्धि उपयुक्त निति र योजना समयमा नै नआएको कारण कृषियोग्य भूमी विभिन्न नाममा अस्तव्यस्त पारिएका छन । मुख्य बालीको रुपमा परिचीत धान खेती हाल केहि समययता संकटमा पर्दै गईरहेको छ ।

पोखरा र यस वरपरका क्षेत्रमा भएका बिरुवा फाँट, कुंडहर फाँट हेम्जा फॉंट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तिव्र गतिमा भैरहेको हुँदा पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न समेत यस्ता कार्यहरुलाई रोक्नु आवश्यक देखिन्छ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल देखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।

यसै सन्दर्भमा यस बर्ष पनि “पोखरा सबै मौसमका लागी” भन्ने मुल नाराका साथ १७औ असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव यहि २०७९ आषाढ १५ गतेका दिन पोखरा- २५, माइस्थान प्राङ्गण हेम्जामा तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा आयोजना गरिएको आज असार १३ गते नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको कार्यालय ड्यामसाइड पोखरामा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड),विभिन्न आमा समुह बिच असारे गीत तथा रोपाइँ प्रतियोगिता,हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता,हिलोमा दौड प्रतियोगिता (नेपाली पुरुष),दौड प्रतियोगिता (नेपाली महिला ), हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक पुरुष), हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक महिला), रस्सा कसी प्रतियोगिता (नेपाली र विदेशीबीच), पत्रकारहरुको हिलो दौड प्रतियोगिता, पोखरा महानगरपालिका वडा नं. २५ का उत्कृष्ट कृषक तथा समाज सेवीलाई सम्मान कार्यक्रम साथै विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने छ ।

विभिन्न प्रतियोगिताका बिजेताहरु हेम्जामा असारे रोपाई महोत्सव गरिने नगद पुरस्कारको ब्यबस्था गरिने साथै लेकसाईड बाट हेम्जासम्म जान आउन निशुल्क बसको ब्यबस्था गरिने संयोजक पोम नारायण श्रेष्ठले बताए ।



Tags: , ,