असारे रोपाइँ महोत्सव भब्यतापुर्वक सम्पन्न

-


     मर्दी न्युज    
     असार १४ गते २०७९ मा प्रकाशित


खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल देखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।

यसै सन्दर्भमा यस बर्ष पनि “पोखरा सबै मौसमका लागीू भन्ने मुल नाराका साथ १७औ असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव आज २०७९ आषाढ १५ गतेका दिन पोखरा २५, माइस्थान प्राङ्गण हेम्जामा तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा आयोजना गरिएको थियो ।

बिहान देखिनै पोखरामा झरीको कारण केहि प्रतिकुलता थपिएपनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो भने झन्डै १०० जना बिदेशी पर्यटकहरु पनि महोत्सवमा रमाइरहेका देखिन्थे । विभिन्न झाँकीहरु, पन्चेबाजा तथा लाखेनाचले कार्यक्रममा रौनक थपेका थिए। केहि विद्यालय हरुले आफ्ना विद्यार्थीहरुलाई रोपाइ सिकाउन खेतमै लगेका थिए ।

औपचारिक कार्यक्रममा मन्तव्य राख्ने अधिकांस बक्ताहरुको जोड खाद्यान्न आयातलाई प्रतिस्थापन गर्नुपर्ने र कृषि उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा थियो । यसरी मन्तव्य राख्नेमा प्रमुख अतिथि पोखरा महानगरपालिका का उपमेयर मन्जुदेबी गुरुङ, विशेष अतिथि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका कार्यालय प्रमुख काशिराज भण्डारी, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, वडा नँ २५ का नब निर्वाचित वडा अध्यक्ष रहेका थिए ।

पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले संचालन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष गोपि बहादुर भट्टराईले गरेका थिए भने संयोजक पोम नारायण श्रेष्ठले रोपार्इ महोत्सवको महत्त्व बारेमा प्रकाश पारेका थिए ।