हेमन्तको आँखामा आँशु

-


     कृष्णप्रसाद भुसाल    
     असार १७ गते २०७९ मा प्रकाशित


२०७९ असार ४ गते, त्रिभुवन बिश्वबिद्यालय, वन बिज्ञान अध्ययन संस्थान, पोखराको सभाहलमा तिन दिने ‘चरा अध्ययन तथा अनुसन्धान बिधी’ तालिमको समापन कार्यक्रम चल्दै थियो । उक्त कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान पोखरा र हेटौडा क्याम्पस, पृथ्वी नारायण क्याम्पस, प्राकृतिक श्रोत ब्यवस्थापन कलेज कटारी र काठमाण्डौं फरेष्ट्री कलेजका गरी कुल ३१ जना प्रशिक्षार्थी, करीव १५ जना वन विज्ञान अध्ययन संस्थान पोखराका आयोजक भाईबैनीहरु र छ जना प्रशिक्षकहरु उपस्थित थियौ ।

प्रशिक्षकको लहरमा प्रकृतिका साथीहरु संस्थाको निर्देशक हामी सबैको आदरणीय दाई राजु आचार्य, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे, समाजका सचिव तथा पृथ्वी नारायण क्याम्पसमा प्राध्यापनरत हेमन्त ढकाल, नेपाल पंछी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम ब्यवस्थापक अंकित बिलाश जोशी, चरा अनुसन्धानकर्ता मिलन बराल र म थियौ ।

प्रशिक्षार्थीहरुको तालिम अनुभव र समिक्षा पछी बोल्ने पालो आयो प्रशिक्षक हेमन्त ढकालको । हेमन्तले नेपालमा बन्यजन्तु संरक्षणको अवस्था, बढदो चुनौती, आगामी कार्यभार र यस क्षेत्रको आफ्नो एक दशक लामो अनुभव र अनुभुती सुनाउदै थिए । त्यति नै बेला करीव चार महिना अघि मुग्लिङ–पोखरा सडक बिस्तारको लागि भन्दै लोपोन्मुख सानोखैरो गिद्धको बच्चा सहितको गुडँ भएको सिमल बँच्चा हुर्किन्जेलको दुई महिना कुर्न गरीएको अनुरोध लत्याउदै ढालेको प्रसंग कोट्याउदै थिए, उनको गला अवरुद्ध भयो, आँखामा आशु छचल्कीयो । बोल्न सकेन्न थ्याच्च बसे । हलमा सन्नटा छायो । मौनतामै हामीले देशको बर्तमान संरक्षण अवस्था र संरक्षणकर्मिको भोगाई महशुष गरीरहेका थियौ ।

आज भन्दा करीव १५ वर्ष अघि प्राणीशास्त्र केन्द्रिय विभाग, त्रिभुवन बिश्वबिद्यालयमा स्नाकोत्तर अध्ययनको क्रममा हेमन्त ढकाल सँग मेरो पहिलो भेट भएको हो । राजेश हमाल ‘स्टाईल’को लामो कपाल र आँखामा कालो चस्मा ढल्काउदै विभागमा आउने हेमन्त सँग प्रथम वर्षमा त्यति हेलमेल हुन सकेन । संयोगवस दोस्रो वर्षमा हेमन्त र मेरो रोजाई एउटै ‘इकोलोजी’ समुह प¥यो । त्यसपछी हाम्रो हेलमेल अलि बाक्लीयो र शोध अध्ययनको लागि गिद्ध छनोट गरेपछी भने हाम्रो सम्बन्ध बेसरी झाङ्गियो ।

त्यस यताको डेढ दशक हामी नेपालमा गिद्ध र अन्य चराहरुको अध्ययन र संरक्षणको मोर्चामा लगभग सँगसगै नै छौ । पोखरा उपत्यका र आसपासको क्षेत्रमा चरा तथा गिद्धको अध्ययन, अनुसन्धान र संरक्षणमा निरन्तर लागिरहेका हेमन्त कहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलले गिद्ध र अन्य चरालाई पु¥याउने हानी र उडानमा आउन सक्ने चुनौतीका कुरा उठाउदै सम्बन्धीत निकायमा पुगेका हुन्छन त कहिले गिद्धको गुँड भएका रुखहरु प्रजन्न अवधी सम्म नकाटिदिन हारगुहार गर्दै तनहुका सरकारी कार्यालय धाउछन । कहिले करेन्ट लागेर घाईते भएका चराहरुको उद्धार, उपचारमा दोडिनु पर्छ भने कहिले मरेका चराहरुको कारण पत्ता लगाउन तथा पोष्टमार्टम गर्न पनि । तनहँुका गौशाला क्षेत्रमा करेन्ट लागेर मरीरहेका गिद्ध कसरी जोगाउने उपाय खोज्दै त्यहा पुग्छन भने कहिले घाँचोकमा रहेको जटायु रेष्टुरेन्टलाई कसरी दिगो र प्रभावकारी बनाउन सकिएला भनि समुदाय सँगै घोत्लीन्छन ।

दैनिकी गुजाराको पेशालाई समेत थाति राखी चरा र तिनको बासस्थान सुरक्षित गर्दै दिगो बिकाशको स्वयंसेवी अभियानमा लागेका उनैलाई बिकाश बिरोधी देख्छन । सम्बन्धीत सरकारी निकायहरुले उनको कुरा सुनेको नसुने जस्तै गर्छन अथवा तर्कन्छन । संरक्षणको बोर्ड झुन्डाएका ठुला संरक्षण संस्थाहरु यस्ता कुरा र अभियान नजर अन्दाज गर्छन वा रुचि राख्दैन्न । सम्भवत यस्तै परीस्थितीबाट प्रताडित भएर नै होला अन्जानमा बोल्दा बोल्दै हेमन्तको आँखामा आशु छचल्कीएको । हक्की र निडर स्वभाव भएका मनमा लागेको कुरा बोलिहाल्ने हेमन्तको आँखामा आँशु म पहिलो पटक देखे ।

हेमन्तको आशु उ एक्लैको हुदै होईन त्यो त बर्तमान आम संरक्षणकर्मिको पिडा बोधको प्रतिकात्मक प्रस्तुती हो । अझ त्यसमा पनि स्वतस्फुर्त र स्वयमसेवी पर्यावरण जोगाउने अभियानका अभियन्ताको अनुभुती हो । हाम्रोमा पर्यावरण संरक्षणको वकालत र मुलप्रवाहीकरणमा लाग्ने समुदाय र दायरा यसै पनि सानो छ । त्यसैमाथी हामी बिचको एकता, एकरुपता र एकर्अकालाई सहयोग, समर्थन तथा सहजीकरण गर्ने संस्कार पनि छैन । यसैले पनि हाम्रा संरक्षणका मुद्दा कमजोर बन्दै गएका छन् भने संरक्षणकर्मि बिस्थापित हुन बाध्य छन ।

संरक्षण क्षेत्रको माथिल्लो तहमा जागिरे मानसिकता र हामी मात्र जान्ने बिज्ञ भन्ने अहमता हावी देखीन्छ । उनिहरु भुईमान्छेलाई चिन्दैन्न, गन्दैन्न । सरकारी तथा गैरसरकारी संरक्षण संस्थाहरुका पनि आ आफ्नै उद्धेश्य, रुची र चासो छन् जसको कारण संरक्षणका कतिपय जटिल र आम चासोको बिषय तिनिहरुका साझा मुद्दा बन्दैन्न, मौनता नै उनिहरुको बिशेषता बन्छ ।

पछिल्ला दिनहरुमा संरक्षणको झन्डा हल्लाउने इतरका समुदायहरु सञ्चार क्षेत्र, न्यायालय, नागरीक समाजहरु बरु संरक्षणका मुद्धा उठान र समाधानमा बढी प्रभावकारी देखीदै गएका छन । यो खुशिको कुरो हो तर तिनिहरुको सँग हाम्रो साझेदारी र सहकार्य पनि जरुरी हुन्छ । उदाहरणको लागि निजगढ बिमानस्थल र फुलचोकी वन संरक्षण क्षेत्रलाई लिन सकिन्छ । सबैभन्दा दुःखको कुरा नेपालको संरक्षण क्षेत्रमा साझा र सामुहिक भाव, एकता, सदासयता र सकरात्मक सस्कृतिको बिकाश हुन सकेको छैन । अभैm पनि बिश्वद्यिालय, अनुसन्धान संस्था र स्वतन्त्र अनुसन्धानकर्तालाई संरक्षण साझेदारको रुपमा स्विकार्न सकिरहेका छैनौ ।

फाईल फोटो

आम मान्छेको दैनिकी, सामाजिक, आर्थिक र सास्कृतिक तहमा अन्र्तघुलित संरक्षण बिज्ञानको पहिचान मै हामी चुक्ने गर्छौ । फलत राज्यको निती निमार्ण देखी तिनको कार्यवन्यनमा समेत हामीले आशातित सफलता प्राप्त गर्न सक्दैनौ । तारे होटेलबाट निस्कीएर कहिले पुग्लान स्थानिय सरकार र आम मान्छेका झुपडीको आगनमा संरक्षणका बहस र योजना ?

करीव एक दशकको जागिरे संरक्षणकर्मिको भुमिका छाडी स्वतन्त्र अनुसन्धानकर्ता, संरक्षणकर्मी र आफुले जानेको संरक्षण ज्ञानको प्रसारक बन्ने अभियानमा लागेको एक वर्षमै मैले पनि थुप्रै तिता अनुभवहरु गर्न पाए । दशकौ लामो समय बिताएको संरक्षण क्षेत्रका सारथीहरु र चिनजान भन्दा त्यस बाहिरको फरक क्षेत्रबाट आवस्यक पर्दा सहयोग र सहानुभुति मिल्यो जुन अपेक्षा बिपरीतको अनुभव भयो ।

अझ हाम्रो चरा संरक्षणको क्षेत्र त चराको रङ र प्रजातीको विविधता भन्दा पनि झनै बिचीत्रको छ । यस एक वर्षको अवधीमा बढी भन्दा बढी समय देशका बिभिन्न भुभागका समुदाय र प्रकृति सँग बिताउने प्रयास गरे । युवा बिद्यार्थी र अनुसन्धानकर्ता सँग साक्षात्कार र अनुभव तथा शिकाई आदानप्रदानमा रमाए । संरक्षण क्षेत्रको साघुरो घेरा भन्दा बाहिरका मान्छेको संरक्षण प्रतिको बुझाइ र संरक्षणलाई सामाजिक बिज्ञानको आँखाबाट हेर्ने अभ्यास गरे । लेख्ने काम गरे । गजबको अनुभव, अनुभुती र उर्जा मिल्यो ।

पछील्ला दिनमा हामी संरक्षणकर्मिलाई चर्को स्वरमा बिकाश बिरोधी भनिदै छ । हो, हामी तपाईहरुले अहिले गरीरहेको प्रकृति प्रतिकुलको मनोमानी र क्षणीक लाभको डाङडुङे र डोजरे बिकाशको बिरोधी नै हौ । चरा, अन्य वन्यजन्तु र बातावरणको संरक्षण गर्दै दिगो र पर्यावरण मैत्री बिकाश हाम्रो माग हो । यो नै आजको आवस्यकता पनि हो । संरक्षणका मुद्धालाई बलियो सँग उठान गर्न र निर्णायक बनाउन हामी सबैको सामुकि एकता र लगाव जरुरी छ । यसो हुन सके कुनै पनि संरक्षण अभियानका सहयात्रिको आँखामा आशु देख्नुपर्ने छैन । संरक्षणका नाममा खोलिने खुद्रा पसल र ब्यापारलाई थाति राखौ बृहत्तर हातेमालोमा अघि बढौ । जय संरक्षण ।