गण्डकीका मुख्यमन्त्री, मन्त्रीलाई ‘रु १’ दान अभियान सुरु !

-


     मर्दी न्युज    
     असार २६ गते २०७९ मा प्रकाशित


पोखरा । आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौँ रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरूलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ ।

प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढवा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले पोखराको रत्नचोकमा अभियान सुरु गरेको हो ।

अनेरास्ववियु कार्यकर्ताले बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्रीसहित मन्त्री, नेताहरूको तस्बिर आफ्नो अनुहारमा टाँसेर उभिएर दान मागेका थिए ।

‘आफ्नो ट्रस्ट चलाउन सरकारी होइन जनताले नै दान दिन तयार छन् भनेर सिम्बोलिक विरोध गरेका हौँ ।’ अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले भने ।

अनेरास्ववियुले ‘रु १ दान अभियान’ गण्डकीका ११ वटै जिल्लाबाट सुरु भएको जनाएको छ । सत्तारुढ दलले क्याबिनेटबाटै निर्णय गरेर ती शीर्षक फिर्ता नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने पौडेलले बताए ।

अभियानको अन्तिम दिन दान बाकस खोल्ने र सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको अनेरास्ववियुले जनाएको छ ।

व्यक्तिगत रूपमा खुलेका प्रतिष्ठान तथा कोषमा सरकारी बजेट विनियोजन गर्नेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, काँग्रेस नेता अर्जुनप्रसाद जोशी, सीताकुमारी काफ्ले, जनमोर्चाकी प्रदेश सांसद पियारी थापालगायत छन् ।

आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानमा राज्यकोबाट बजेट विनियोजन भएको खुलेपछि जनस्तरबाट चर्को विरोध भइरहेको छ ।