आजको मौसम : धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित


हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश–१का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आजराति देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्क रहन विभागले आग्रह गरेको छ ।