तीन प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित


पोखरा । देशभर अहिले बिहान आंशिक देखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै राति बागमती, गण्डकी, लुम्विनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेको उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागको आग्रह छ ।