पोखरा । पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा साउन ३१ गते स्थानीय बिदा दिएको छ । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालय एवम मन्टेश्वरीमा समेत स्थानीय बिदा दिएको हो ।
वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए ।
गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे मनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।
ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुखशान्ति प्राप्त हुने जनविश्वास छ । यो पर्वमा गुरुङ समुदायका मानिसले विभिन्न हातहतियार, ढ्याङ्ग्रो, झ्याली, डम्फु, खैंचडी, चिम्टालगायत सामग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतलाई धपाउने गर्दछन् ।