काठमाडौँ, १ भदौ । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्काेमा तीन दशमलव पाँच प्रतिशत छ । सो सडक चार लेनमा विस्तार गरिने भएपनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले जानकारी दिए । मादी नदीमा चार लेनको नयाँ पुल बनाइने भएको छ । हाल रहेको पुल पुरानो भएको र आयू कम भएकाले हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । जम्मा ८० दशमलव ३३ किलोमिटर लम्बाइको सडकको स्तरोन्नति विसं २०७६÷७७ मा सुरु भएको थियो ।
सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत १३ दशमलव ६२ अर्ब छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्किसहित १५ प्रतिशत थियो ।
निर्माण सुरु भएको आठ नौ महिना गइसकेको भए पनि निर्माणको गति कम देखिएको महानिर्देशक थापाले बताउए । सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ । निर्माण गरेकै कम्पनीले मर्मत गर्नुपर्ने हुँदा राम्रो गर्नुपर्ने छ । उनले भने, “अरु धेरै ठेक्कामा एक वर्ष मर्मत गरेपछि त्यो कटाएर जाने थियो ।” पहिलो ठेक्कामा एक सय ४१ स्ल्याब कल्भर्टमध्ये १८ मा काम भइरहेको छ । चार सम्पन्न भइसकेको छ । त्यस्तै, २५ बक्स कल्भर्टमध्ये आठ वटामा काम भइरहेको र दुई सम्पन्न भएको छ ।
सो खण्डमा २४ माइनर (साना) पुलमध्ये तीन सम्पन्न भइसकेको र तीन ठूला पुलमध्ये एक निर्माणाधीन छ । अहिलेसम्म २५ दशमलव तीन किमीमा माटो काटी सडक विस्तार भएको र टेवा पर्खालको काम भइरहेको छ । पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो । जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैर सहरी क्षेत्र छ । सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ ।
अवधि केही गए पनि काम आशा गरिए अनुसार नभएको विभागले जनाएको छ । यो ठेक्कामा पनि निर्माण, मर्मत र सम्भार गरी नौ वर्ष समय छ । दोस्रो ठेक्कामा हालसम्मको प्रगति एक प्रतिशत र वित्तीय प्रगति मोबिलानइजेशन पेश्कीसहित सात दशमलव पाँच प्रतिशत छ । सो खण्डमा ७८ स्ल्याब कल्भर्ट, ३५ बक्स कल्भर्ट र साना र ठूला पुल निर्माणको तयारी अघि बढेको योजनाले जनाएको छ ।
अपेक्षा गरिएको भन्दा न्यून प्रगति हुनुको कारण कोभिड सङ्क्रमण पनि रहेको विभागका महानिर्देशक थापाले बताए । निर्माणको काम सुरु भएपनि चीनबाट दक्षजनशक्ति र उपकरण ल्याउन बाधा भएको जनाइएको छ । दोस्रो लहरको समयमा कतिपय कामदारलाई सङ्क्रमण देखिएकाले कार्यरत कामदार घट्दै गएका थिए । तेस्रो लहरको समयमा पनि कामदार घटेको र उपकरण ल्याउन नसकिएको उनले बताए ।
निर्माण व्यवसायीबाट समयमानै आवश्यक स्रोतसाधन जुटाउन नसकेको महानिर्देशक थापाले बताए । परामर्शदाताको निर्देशन ढिला गरी पालना गर्ने गरेको र पटक–पटक प्रतिबद्धता पेश गर्ने तर पूरा नगर्ने हुँदा समस्या देखिएको छ । निर्माणस्थलमा विद्युत् प्राधिकरणको प्रशारण लाइन र वितरण लाइन दुबै छ । विद्युतीय संरचनाको स्थानान्तरण भइरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा भइरहेको महानिर्देशक थापाले बताए । सो कामका लागि हाल लागत अनुमान प्राप्त नभएको उनले बताए ।
त्यस्तै, खानेपानीको संरचना हटाउन पनि समस्या रहेको योजनाले जनाएको छ । जामुनेदेखि सेती नदी पुलसम्म सडकको स्तरोन्नति गर्न सो क्षेत्रमा खानेपानी संस्था र उपभोक्ता समितिका पाइप लाइन तथा संरचना रहेका छन् । उनले भने, “सबै संस्था र समितिबाट योजनाबाटै तीनको स्थानान्तरण गरिनुपर्ने माग भएको र हाल स्थानान्तरणको लागत सङ्कलन भइरहेको छ ।” सडक चाँैडा गर्ने क्रममा ढुङ्गा र माटो निस्के पनि निर्माण सामग्रीमा स्थानीय तहबाट ‘हाम्रो हो’ भनेर रोयल्टी माग भएको र ढुवानी गर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको महानिर्देशेक थापाले बताउनुभयो । सो विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय सरकारसँग पटक–पटक छलफल हुँदासमेत समाधान हुन नसकेको उनले बताए ।
सडक निर्माणका लागि अत्यधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र सेती नदी तथा आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख छ । स्थानीय तहबाट सो सामग्रीको ठेक्कापट्टा हुँदा योजनालाई निर्माण सामग्रीको अभाव हुने देखिएको महानिर्देशक थापाले बताए । त्यसले गर्दा ढिलाइ हुने अवस्था छ । उनले भने, “यहाँ मात्रै होइन देशभरमानै नदीजन्य सामग्री पाउन गाहे हुँदा निर्माणमा समस्या छ ।”
अमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ । सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था छैन ।
अहिले वर्षाको समयमा आबुखैरेनीदेखि मुग्लिनसम्म ठाउँठाउँमा पहिरो जाने ठाउँ रहेकाले त्यसको समाधान गरिने छ । पानी जम्ने र नाली थुन्ने समस्या रहेकाले सडक भासिने हुँदा व्यवसायीले खुलाइरहेका छन् । हाल विस्तारकै क्रममा रहेको नारायणगढ–बुटवल सडकमा निर्माणस्थल खाली हुन लामो समय लागेकै कारण अवधि सकिँदासमेत प्रगति न्यून छ । पृथ्वीराजमार्गको विस्तारमा सुरुमा निर्माणस्थल खाली गर्न समस्या देखिएकाले सोही ढिलाइ दोहोरिन सक्ने आशङ्का भइरहेको छ ।
गत साता प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसद्हरुले यो सडक निर्माण सुरु हुँदादेखि नै ढिलाइ भइरहेको भन्दै विभागको ध्यानाकर्षण गराएका थिए ।
चीन सरकारको सहयोगमा सन् १९७४ मा १७४ किमी लम्बाइको नौबिसे–पोखरा खण्डको निर्माण भएको थियो । पहिले सडक एक लेन रहेकमा आव २०४९÷५० मा दुई लेन विस्तार गरिएको थियो । मुग्लिनबाट १५÷१६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ रहेको थियो । अहिले विश्व बैंकबाट ऋण सहयोगमा निर्माण सुरु गरिएको छ । सडक चार लेनमा विस्तार गर्ने अवधारणाअनुसार विश्व बैंकबाट ऋण सम्झौता गरिएको छ ।