
काठमाडौं । आठ हजार मिटरभन्दा अग्लो विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आराही सानु शेर्पालाई सरकार तथा निजी क्षेत्रको तर्फबाट भव्य सम्मान गरिएको छ ।
आरोहण सकेर आजै काठमाडौँ फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल पर्वतारोहण सङ्घ, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका अगुवा संस्थाहरूले विमानस्थलमा आरोही शेर्पाको स्वागत गरेका थिए ।
यही महिना पाकिस्तानको गासरब्रमु दोस्रोको सफल आरोहण गरी शेर्पा विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहो¥याएर आरोहण गर्ने विश्वकै पहिलो र एक्लो आरोही बनेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
कीर्तिमानी आरोही शेर्पालाई विमानस्थलमा स्वागतपछि ¥यालीसहित सहर परिक्रमा गराइएको थियो । कीर्तिमानी आरोही शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटारस्थित निवासमा बोलाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए । विमानस्थलबाट तीनकुने, बानेश्वर थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै त्रिदेवीमार्ग सञ्चयकोष ठमेलबाट ठमेल परिक्रमा गरी नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाले सन् २००६ बाट आरोहणयात्रा सुरु गरेका थिए । पहिलोपटक चोयो हिमालको आरोहण गरेर १६ वर्षको अवधिमा आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान कायम गरे । उनले हालसम्म आठ हजार मिटर अग्गा हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथाको सातपटक आरोहण गरेको छ भने पाकिस्तानको केटु दुईपटक आरोहण गरेका छन् ।
कीर्तिमानी आरोही शेर्पाले आफ्नो आरोहणको कीर्तिमानले सिङ्गो देशको गौरव बढाएको बताए । उनले आरोहणलाई व्यवस्थित गर्दै आरोहीको सामाजिक सुरक्षाको विषयमा ध्यान दिनसकेको खण्डमा नेपालको पर्वतारोहण विश्वको आकर्षण र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।
यस्तै आठ हजारभन्दा अग्ला १४ वटै हिमचुलीहरूको पहिलोपटक सफल आरोहण गरेका अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई पनि स्वागत तथा सम्मान गरिएको छ । सन् २००३ देखि हिमाल आरोहण सुरु गरेका दोलखाका आरोही शेर्पाले हालसम्म आठ हजार मिटर अग्ला हिमाल ४४ पटक आरोहण गरिसरेका छन् । उनले सगरमाथाको नौपटक आरोहण गरेका छन् ।
हालसम्म छ जना नेपाली आरोहीले विश्वमा रहेका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गरेको छ । विश्वका ४४ आरोहीले १४ वटै हिमालको आरोहण गरेको रेकर्ड रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए । उनले आरोहीको कीर्तिमानले नेपालको मान र सान दुवै बढाएको बताए । उनले पर्वतीय पर्यटनको विकास भएमात्रै मुलुकको समग्र पर्यटन क्षेत्रको विकास हुने भन्दै आरोहणलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।