लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न सत्तारुढ नेता डराएः ओली

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरू डराएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए । केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उक्त जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम एमालेले गरेको स्पष्ट पारे ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्ष अघि हाम्रो हातबाट खोसिएको सो भूमि हाम्रो भए पनि सरकारले फिर्ताको ठोस पहल लिन नसकेको उनले बताए ।

उनले भने, ‘देश बनाउने काममा केन्द्रित भएर लाग्न हामीले आग्रह गरिरहेका छौं, तर सरकारले ध्यान दिएको छैन ।’ देशलाई नाकाबन्दीमा पर्न नदिन आफू नेतृत्वको सरकारले यसअघि उत्तरतिरको नाका खोल्ने काम गरेको पनि उनले बताए । ‘१४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाएन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । हामी नेतृत्वको सरकारले नक्सा जारी गर्‍यौं । संविधानमा त्यसलाई समेट्यौं र भारत सरकारलाई पत्राचार गर्‍यौं ।’

‘हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं । आफ्नो जमिन फिर्ता मागिराखेका छौं’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि होकि होइन ?’

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरू आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको पनि दोहो¥याए । तर, एमाले र यसका नेताहरू भने देश बनाउने अभियानमा रहेको उनको भनाइ छ ।

मुलुक बचाउन भए पनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउन आवश्यक भएको उनले बताए ।

कार्यक्रममा विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्ने नेता कार्यकर्तालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।