मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैनः अध्यक्ष यादव

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित


Mardi News

धनुषा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । ”

आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएको हो । “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन”, अध्यक्ष यादवले भने, “मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।”

सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए । रासस