तनहुँ–१ मा मेरो दाबी स्वाभाविक : श्रेष्ठ

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित


दमौली । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नम्बर–१ मा उमेदवार तय हुने बताएका छन् ।

मंगलबार तनहुँमा आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ–१ मा उमेदवारीका विषयमा धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उमेदवार तय गरिने बताए । उनले भने, “राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज–जसले जहाँबाट जितेको छ, त्यहीँबाट उमेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वाभाविक हो ।”

आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उनले भने, “पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु ।”

उनले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । उनले भने, “धेरै त्याग, तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानुछ ।”