आज देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     ८ भदौ २०७९ मा प्रकाशित


पोखरा । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज बिहान कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।