प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

-


     मर्दी न्युज    
     ८ भदौ २०७९ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

झण्डै डेढ घण्टा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट अध्यक्ष ओलीको साथमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।

भेटमा ओलीले मुख्य चार गठबन्धन, नागरिकता विधेयक, टीआरसी र महँगीका विषय राखेका थिए । एमाले अध्यक्ष ओलीले बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, ओलीले सत्ता गठबन्धनले आफूहरूप्रति निषेधको राजनीति गरिरहेको समेत बताएका थिए । प्रतिस्पर्धाको स्वच्छ मूल्य–मान्यतामा उभिएर अघि बढ्न उनले देउवालाई सुझाव दिए ।

‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र ? कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो ?’ ओलीले देउवालाई भनेको उद्धृत गर्दै सहभागी एक नेताले सुनाए ।

प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणलगायत दीर्घकालीन महत्वका निर्णयमा सरकारले एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाइरहेको बेला भएको छलफललाई अर्थपूर्णरूपमा लिइएको छ ।

देउवाको निमन्त्रणामा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । करिब ६ महिनापछि देउवा–ओली भेटवार्ता भएको हो ।