पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित


पोखरा, ९ भदौ । पोखरा पर्यटन परिषद्ले नयाँ नेतृत्व पाएको छ । बिहीबार भएको १२ औं अधिवेशन‌ले पोमनारायण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यस‌मिति निर्वाचित गरेको छ ।

परिषदको बिहीवार भएको निर्वाचनमा श्रेष्ठले २८ मत प्राप्त गरी विजय भएको प्रमुख निर्वाचन अधिकृत डम्बरबहादुर केसीले घोषणा गरे । उन‌का प्रतिद्वन्दी रामचन्द्र शर्माले १४ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो ।

यसै गरी परिषदको अन्य पदाधिकारी तथा सदस्यहरुको चयन र पदस्थापना भोलि शुक्रवार हुने भएको प्रमुख निर्वाचन अधिकृत केसीले जानकारी दिए । बाँकी ३ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान छ ।

यस अघि गोपीबहादुर भट्टराई परिषद्का अध्यक्ष थिए । परिषद् पर्यटनसँग सम्बन्धित १३ वटा संस्थाको छाता संगठन हो । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा पोखराको सिंगो पर्यटनमा नौलोपन दिई अन्य संस्थाहरुसँग हातेमालो गरि अगाडि बढ्ने बताए ।

यस अघि परिषद्‌को २२ औं साधारण सभा तथा १२ औ अधिवेशन‌को उद्‌घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए । मुख्यमन्त्री नेपालीले अधिवेशनको उद्‌घाटन मन्तव्य दिँदै पोखरालाई पर्यटकीय राजधानी बनाउन संघीय सरकारलाई आग्रह गरेको बताए ।

“पर्यटनको अथक सम्भावना भएको हाम्रो प्रदेश राजधानी पोखरालाई पर्यटकीय राजधानीका रुपमा मान्यता दिनुपर्यो” उनले भने, “मानसिक रुपमा हामी तत्पर छौं, यहाँका पर्यटक व्यवसायलाई वतावरण दिन प्रदेश सरकार सदा तत्पर छ ।”

कार्यक्रममा पर्यटन प्रवर्धनमा समाचारको माध्यमबाट सहयोग गरेकोमा पत्रकारद्धय जमुना वर्षा शर्मा र वाशुदेव मिश्रलाई सम्मान गरिएको थियो ।

गोपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद राजिव पहारी, कास्कीका प्रमुख ज़िल्ला अधिकारी जयनारायण आचार्य लगायतले कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए भने महासचिव रामचन्द्र शर्माले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।



Tags: