पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले समाजिक सञ्जालमा व्यक्तिगत जानकारी (प्राइभेट डेटा) सार्वजनिक नगर्न आग्रह गरेका छन् ।
बिहीवार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको सञ्चारकर्मीका लागि साइबर सुरक्षा विषयक अभिमुखीकरण कार्यक्रममा निजी विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्दा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सघाउ पुग्ने प्रवक्ता तिवारीले बताएको हो ।
डिएसपी तिवारीले प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप मौलाएको बताउदै सर्वप्रथम नागरिक नै सचेत हुनुपर्ने बताए । ‘साइबर अपराध जटिल समस्या बनेको छ । तर नागरिक भने सचेत हुनैपर्छ, उनले भने, ‘अपरिचित व्यक्तिले तपाइको आधिकारिक कागजपत्र, फोटो वा कुनै सोसल साइटको ओटिपी (वान टाइम पासवर्ड) माग्छ भने डबल भेरिफिकेसन गर्नुपर्छ ।’
ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमो आदि सामाजिक सञ्जालबाट अधिकांश नागरिकहरु प्रलोभनमा परेर ठगीमा पर्ने गरेको उनले बताए।
प्रवक्ता तिवारीका अनुसार विभिन्न शिर्षकमा गत एक वर्षमा साइबर अपराध अन्तर्गत कास्कीमा ३ सय ८९ मुद्धा दर्ता भएको छ । तथ्याङ्क अनुसार ठगीनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । ठगिने २ सय १० जना महिला र १ सय ७९ जना पुरुषले उजुरी दिएको तिवारीले बताए ।
डिएसपी तिवारीले सबै एपमा एउटै पासवर्ड प्रयोग गर्न नहुने र समय समयमा पासवर्ड परिवर्तन गर्नुपर्ने समेत सुझाए ।
कार्यक्रम कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।