महेन्द्रपुलमा रहेको महानगरको सटर भाडा तिर्न मेयर आचार्यको आग्रह

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७९ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाको सटर भाडा तिर्न व्यवसायीहरुलाई मेयर आचार्यले आग्रह गरेका छन ।

शुक्रवार सिर्जनशील कलाकार समुहद्वार आयोजित ‘अनन्त रेखाहरु’ नामक सामुहिक कला प्रदर्शनीको उद्घाटन मन्तव्य राख्दै कोरोनाको समयको एक वर्ष छाडेर बाँकी बक्यौता तिर्न आग्रह गरेको हो ।

‘इमानदारीता पूर्वक भन्छु, यो परिसरमा बसेर जसले जति भाडा तिर्छु भनी सम्झौता गरेका छन् उनीहरूले एक वर्षको भाडा छाडेर बाँकी तिर्नुहोस ।’ मेयर आचार्यले भने, ‘यो महेन्द्रपुल परिसरमा एक वर्षको भाडा छुट कसैले पनि पाएको छैन, एक वर्षाको छुट प्राप्त गरेपनि तपाईंले तिर्नु हुन्न भने भोलि तपाईंका सन्तानले धिकार्ने छन, अहिले नतिरेको ऋण नाति पनातिले तिर्नुपर्ने हुन्छ ।’

पोखरा महानगरको सिर्जनाचोकमा तीन तले व्यापारिक भवनका साथै महेन्द्रपुल, लेखनाथ, राष्ट्रबैंक चोक र मालपोत कार्यालय अगाडि गरी एक सयभन्दा बढी सटर छ ।

महेन्द्रपुलमा महानगरकाको सबभन्दा धेरै ३२ वटा सटर छ । क, ख र ग ब्लक गरेर छुटयाईएको ती सटरहरु ब्लक अनुसार मासिक ७ हजारदेखि ६१ हजार रुपैयाँसम्म भाडादर तोकिएको छ । तर, तिमध्ये गको एउटा सटरको मात्र गत मसिंरसम्मको भाडा जम्मा भएको देखिन्छ । बाँकी सटरको भाडा गत ४१ महिनादेखि उठेको छैन ।

क ब्लकको एउटा सटरबाटै १४ लाख भाडा उठ्न बाँकी देखिएको छ ।

मेयर आचार्यले अहिले रहेको पोखरा आर्ट ग्यालरीलाई पृथ्वीचोकमा पोखरा भवन बनाई स्तान्तरण गरिने पनि बताए ।

कला प्रदर्शनीमा अग्रज कलाकारदेखि नयाँ कलाकारहरू गरी ८५ कलाकारका ८६ कलाकृतिको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्राज्ञ बुध्दिबहादुर गुरुङ, वरिष्ठ कलाकार दुर्गा बराललगायतले पोखराको कला र कलाकृति बारे मन्तव्य राखेका थिए ।